काठमाडौँ । जिल्ला अदालत काठमाडौँले निवर्तमान् सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश दिएको छ ।
निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पीडित भनिएकी संसद सचिवालयकी कर्मचारी महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनाका प्रमाणको प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारी र घटना विवरणको कागज गर्ने व्यक्तिहरूलाई पनि बयानका लागि इजलास समक्ष उपस्थित गराउन आदेश दिइएको छ ।
सभामुख पदमा रहेका महराले गत असोज १२ गते साँझ आफूलाई बलात्कार प्रयास गरेको ती कर्मचारीले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त आरोप लागेपछि असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए। उनलाई असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा महरा हाल पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।
महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ । उच्च अदालत पाटनले पुस ३ गते महराको मुद्दालाई १ महिनाभित्र अन्तिम फैसला गर्न जिल्ला अदालत काठमाडौंलाई भनेको छ ।