एजेन्सी । इरानमा भएकाे युक्रेन इन्टरनेशनलको विमान दुर्घटनामा सबै यात्रुकाे मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा १७६ जना यात्रु रहेकाे बताइएकाे छ ।
बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना भएको थियो ।
उक्त विमानमा १६७ जना यात्रु र चालक दलका ९ सदस्य थिए । ती सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
इरानको अर्धसरकारी समाचार एजेन्सी आईएसएनएसँग कुरा गर्दै रेड क्रिसेन्टका प्रमुखले भनेका छन्, ‘विमान दुर्घटनामा जिउँदा व्यक्ति फेला पर्ने सम्भावना छैन ।’ रेड क्रिसेन्ट मुस्लिम देशहरुको एक संगठन हो जसले विपदमा परेकाहरुलाई सघाउँछ ।
इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।
नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’
विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण