कलम रोए अक्षर बन्छ, कवि रोए कविता
धनी मरे श्रद्धाञ्जली, गरीब मरे रमिता
माथिको रचना कुनै एक ट्रकको पछाडि भेटिएको हो । माया, प्रेम, हास्यविनोददेखि दार्शनिक लय पक्रिएका यस्ता रचना प्राय: सवारी साधनमा पढ्न पाइन्छ । यात्राको दौरानमा सवारीको पछिल्लो भागमा लेखिएका यस्ता सिर्जनाले हामीलाई रोमाञ्चकसँगै गम्भीर पनि बनाउने गर्छ ।
तर, अब सवारी साधनका पछाडि लेखिएका यस्ता सामग्री पढ्न नपाइने भएको छ । यसअघि नै ट्रकलगायतमा सवारीमा लेखिएका घत लाग्दा हरफ अब मेटिनेछन् भने नयाँ सवारीले पुरानो सवारी साधनको सिको गरेमा कारबाहीकाे भागिदार बन्नुपर्नेछ ।
सवारीसाधनहरूको नियामक निकाय यातायात व्यवस्था विभागले सवारी साधनले वर्षौंदेखि लेख्दै आइरहेका यस्ता सामग्रीहरू हटाउन लागेको हो । अब सवारीका विभिन्न भागमा स्लोगन, कोटेसन वा कविता राख्न नपाइने भएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी साधनका पछाडि लेखिएका सिर्जनाले दुर्घटना निम्त्याउन भूमिका खेलेको पाइएपछि हटाउने अभियान थालिएको बताए ।
‘सवारीको पछाडि लेखिएका लामा–लामा सामग्रीले दुर्घटना निम्त्याएको पाइएपछि ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालासँग छलफल गरेर हटाउने निर्णय गरेका छौं’, महानिर्देशक हमालले भने ।
हमालका अनुसार, मोटरसाइकलदेखि सबै किसिमका सवारी साधनका पछाडि लेखिएका सामग्री मेट्न एक महिनाको समय दिइएको छ । यो अवधिभित्र कसैले अटेरी गरेमा कारबाही थालिने उनले बताए । ‘सबैलाई जानकारी नभएकाले हामीले सूचना जारी गरेर १ महिनाभित्र हटाउन भनेका छौं’, हमालले भने, ‘यो अवधिपछि पनि कसैले अटेर गर्छ भने ट्राफिक प्रहरीसँग समन्वय गरेर कारबाहीको दायरामा ल्याउनेछौं ।’
यस्ता सवारीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उनले बताए ।
हाल देशभित्र लाखौं सवारीसाधन दर्ता भएका छन् । दर्ता भएका सवारीसाधनमध्ये ट्रक, ट्रिपर, ट्यांकर र बसमा रोचक र घोचक सामग्री लेखेको पाइन्छ ।
यति मात्रै हैन, विभागले अब सवारी चालकले चप्पल लगाएर सवारी चलाउन नपाइने निमय ल्याएको छ । चप्पल लगाएर सवारी चलाउँदा खुट्टा कठ्याङ्ग्रिने र ब्रेक राम्रोसँग नलाग्ने समस्या भएको भन्दै जुत्ता अनिवार्य गरिएको छ ।
त्यसैगरी, विभागले अघिल्लो भागको सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न भनेको छ । यसरी सिससा ढाकिने गरी टाासिने सामग्रीका कारण चालकले सडकको सबै भाग राम्रोसाग देख्न नसकेको विभागको भनाइ छ ।
यसैगरी चाकल आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका समाग्री पनि राख्न निषेध गरिएको छ । म्युजिक सिस्टम पनि क्याबिनमा नराख्न भनिएको छ ।
लामो दूरीका सवारीले ढोकामै यात्रु संख्या र बसको क्षमता लेखेर टाँस्नु पर्ने नियम पनि ल्याइएको छ । यसैगरी चालकको व्यक्तिगत विवरण खुल्ने गरी सवारीभित्र फोटो सहितको जानकारी टाँस्न पनि निर्देशन दिइएको छ । – अनलाइनखबर