Aafno Khabar

राष्ट्रियसभा निर्वाचनको जिम्मा कांग्रेस पदाधिकारीलाई

  • January 2, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई प्रदान गरेको छ ।

केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाइ पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय पनि गरेको छ । यो पहल विशेष गरी प्रदेश २ मा गरिने जनाइएको छ ।

प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच सहकार्य गर्ने सहमति भइसकेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई सहयोग एवम् समर्थन गर्न संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा रहेका सबै राजनीतिक दल र सबै मतदातालाई कांग्रेसले अनुरोध र आह्वान पनि गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको उपस्थिति थिएन । साथै पार्टीका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु बैठक उपस्थित हुनुभएन ।