काठमाडौं । सांसदहरुले निजामति सेवाका कर्मचारीलाई लोकसेवामा आन्तरिक प्रतिस्पर्धामा जान पाउने व्यवस्थाले काम छाडेर तयारी गर्ने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको दफा ९ माथि छलफल गर्दै सांसदहरूले विधेयकमा यस्तो व्यवस्था हटाइनुपर्ने बताएका हुन् ।
सांसद नवराज सिलवालले पछिल्लो समय ५ जना सहसचिव पदको लागि आन्तरिक प्रतिस्प्रधा खुल्दा १८ सय कर्मचारीले काम छाडेर तयारी गरिरहेको दाबी गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले निजामति सेवालाई ठुलो औद्योगीक प्रतिष्ठानको रुपमा हेर्ने प्रवृतिले समस्या आउने गरेको बताउनुभयो ।
छलफल पछि विधेयकमा राखिएको राजपत्राङ्कित प्रथम श्रेणी र द्वितीय श्रेणीमा आन्तरिक प्रतियोगिता तर्फ २० प्रतिशतबाट पदपूर्ति गर्ने व्यवस्थालाई हटाइएको छ । यससँगै निजामति सेवामा कार्यरत कर्मचारीहरु आन्तरिक प्रतियोगिताद्धारा माथिल्लो तहका लागि प्रतिस्प्रधामा जान नपाउने भएका छन् ।