Aafno Khabar

हिटलरले राजा त्रिभुवनलाई दिएको गाडी नारायणहिटी संङ्ग्रहालयमा राखिने

  • December 25, 2019 प्रकाशित

काठमाडौंमा रहेको नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ।

अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत राखिने छन्।

संस्कृति मन्त्रालय मातहत रहेको उक्त सङ्ग्रहालय सञ्चालनका लागि हालै सरकारले दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै उक्त सङ्ग्रहालयको प्रदर्शनीमा ती थप गरिन लागेका हुन्।

२०६५ साल फागुन १५ गते देखि नारायणहिटी दरबारलाई सङ्ग्रहालयका रूपमा सर्वसाधारका निम्ति पनि खुल्ला गरिएको थियो।

उक्त सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले गुरू योजना तयार भइरहेको र त्यो पारित भएसँगै दरबारभित्र आम मानिसले हेर्न चाहेका थप वस्तुहरू प्रदर्शनीका लागि राखिने बताए।

जर्मनीका तत्कालीन शासक हिटलरले नेपालका राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कार अब नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ।

यसको मर्मतसम्भार गर्न केही समय लाग्ने सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताएका छन्।