गोकर्ण रिसोर्ट, नारायणहिटीअगाडिको जमिन, सगरमाथा राष्ट्रिय निकुञ्ज आदिमा यती गु्रुपको जुन कब्जा छ, यो खासमा प्रचण्डको कब्जा हो । राजा वीरेन्द्रको सम्पत्ति देश र नेपाली जनताका लागि प्रयोग हुनुपर्ने थियो । तर यो सम्पत्ति भ्रष्टहरुले माफियालाई जिम्मा लगाए । अर्को भाषामा भन्नु पर्दा यो बाघको छालामा स्यालको रजाईँ भनेको यहि हो ।
अर्को चुनावका लागि माओवादी कार्यकर्तालाई बाँड्न अर्बौं रुपैयाँ प्रचण्डलाई चाहिएको छ । बाबुरामको भनाइअनुसार पनि प्रचण्डसँग २३ अर्ब रुपैयाँ कालोधन छ । देशको स्रोत साधन सबै कब्जा गरेर त्यसबाट आएको पैशाले उनीहरु अर्को चुनावको तयारीमा छन् ।
यसका लागि प्रचण्डले केपी ओलीलाई प्रयोग गरिरहेका छन् । नेकपामा सबैभन्दा बढी पैशाको भोक प्रचण्डमा छ । प्रचण्डको परिवार विलयतर्फ गइरहेको छ । तर प्रचण्ड पैशा बाहेक केही पनि देख्दैनन् । पैशा भए नेपालमा सबै कुरा सम्भव छ भन्ने विज्ञान प्रचण्डमा छ ।
प्रचण्डले सम्पत्तिको नाममा ३ तोला सुन र एक कठ्ठा जमिन देखाएका छन् । उनीसँग पैशा जम्मा गर्ने भोक बढेका कारण उनी त्यसका लागि जुन हदसम्म ओर्लिन पनि तयार हुन्छन् ।
वर्तमान सरकारको नेतृत्व केपी ओलीले गरिरहे पनि उनको आडमा पैशा संकलन, आर्जनको धन्दा प्रचण्डले चलाइरहेका छन् ।
भ्रष्टाचारजन्य कार्यका लागि केपी ओली बाध्य छन् । ८२ सालमा गोकर्ण रिसोर्टको नवीकरण गर्नुपर्छ । ६ वर्षअघि नै कानुन बनाएर यती ग्रुपलाई रिसोर्ट बुझाउँदा प्रतिस्पर्धा त भएन भएन ६ वर्षपछि कसको सरकार बन्छ त्यसको पनि टुंगो नलाग्ने भएपछि अहिले नै बुझाइएकोछ । छ वर्षपछि बन्ने सरकारको अधिकार अहिले नै ओली सरकारले खोसेको छ ।
यो कार्य विधिसम्मत पनि छैन । हामी यसविरुद्ध अदालत जान्छौं । हामीलाई अख्तियारको त कुनै विश्वास पनि छैन । ओली र प्रचण्डका अगाडि अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे सरकारी खरिदार र सुब्बा सरह हुन् । ओली प्रचण्डकै कृपांक पाएर प्रमुख आयुक्त हुने मौका पाएका घिमिरेको औकात माथिल्लो तहको वा भनौं नीतिगत भ्रष्टाचारको अनुसन्धान गर्नेसम्म पुग्दैन ।
दुई हजार देखि २० हजारसम्म घूस लिएको भनेर पियन, खरिदार, सुब्बा पक्राउ गर्दैमा उनले आफ्नो कार्यकाल बिताउँछन् । उनीबाट थप आशा नगरौं । यता, कुनै बखत अख्तियारमा गतिलो आयुक्त आउँदा पनि कारबाहीबाट जोगिन सकियोस् भनेर मन्त्रिपरिषदबाट पास गराएर रिसोर्ट यती समूहलाई जिम्मा लगाइएको छ । अख्तियारले अनुचित कार्य र मन्त्रिपरिषदबाट भएका निर्णय विरुद्ध अनुसन्धान गर्न नपाउने कानुन छ । त्यही कानुनको दुरुपयोग गर्दै रिसोर्ट जिम्मा लगाउने खेल भएको हो ।
राजाको सम्पत्तिमा स्यालको रजाईँ नै हो यो । अब यो कार्य गर्न रामबहादुर थापा बादलले मानेनन् । अनि उनको सट्टामा इश्वर पोख्रेललाई ल्याइयो । पोख्रेल आफूलाई अबको प्रधानमन्त्री हुँ भने झै गर्छन् । कार्यवाहक पनि खाँदै आएका छन् ।
यहि भएर केपी ओलीले जस्तो प्रस्ताव ल्याउँछन्, त्यसमा ल्याप्चे लगाउने हनुमानको पदमा पोख्रेल छन् । हुन त हुनमान सतपात्र थिए, तर पोखे्रल खलपात्र हुन् । यती ग्रुपका अध्यक्ष थिए आङ छिरिङ शेर्पा । उनीसँग अनुचित साँठगाँठ गर्थे रवीन्द्र अधिकारीले । यति बेला ‘रवीन्द्रको अधुरा सपना पूरा गर्छु’ भन्दै विद्या भट्राईले चुनाव जितिन् । कुरा स्पष्ट छ ।
रवीन्द्रको नेपाल समृद्ध बनाउने कुनै सपना थिएन । उनको सपना त भएका स्रोत साधन पनि आङ छिरिङ शेर्पालाई बुझाउने थियो । दिवंगत भएपछि देवत्वकरण गर्ने चलन छ नेपालमा । यस्तो गर्न केही आवश्यक छैन । रवीन्द्र आङ छिरिङ शेपाको हेलिकोप्टर चढेर अनुचित प्रयोजनका लागि गएका थिए । दुर्घटनामा परेर मरे । यो जुनीमा गरेको पापको सजाय उनले पाएका हुन् ।
आङ छिरिङ शेर्पा पनि त्यही हेलिकोप्टर दुर्घटनामा परेर मरे । तर उनको प्रेतआत्माले अहिले पनि नेकपाका नेतालाई नचाइरहेको छ । तर हेर्दै गर्नुहोला, यो पाँच छ महिनामा सबै उल्टिन्छ ।
(भ्रष्टाचारविरोधि अभियन्ता जंगमसँग भएको कुराकानीमा आधारित)