Aafno Khabar

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

  • December 25, 2019 प्रकाशित

जाजरकोट। नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् ।
नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६ व्यक्तिले मात्र फोन गर्न मिल्ने छ । ”
माइक्रोवेभमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीयवासी सञ्चार सेवा सहजरूपमा प्रयोग गर्न पाएका छैनन् । उपल्लो डोल्पाको सहरतारामा कोरियन स्याटेलाइट प्रविधिलाई विस्थापित गरेर माइक्रोवेभबाट चल्ने टावर जोड्ने काम शुरु भएको छ । हिमापात जारी रहेकाले दुुई महिनादेखि काम अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

जिल्लामा दुुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिङ्क जोड्न समस्या भएको प्राविधिक भट्टराईले जानकारी दिनुभयो ।। रिपिटर टावर कम भएकै कारण जिल्लामा महिनैपिच्छे टावरमा समस्या आउने गरेको छ । जिल्लाका सबै टावरलाई माइक्रोवेभमा जोडेर सञ्चालन गरे मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ । स्याटेलाइटबाट एकपटक १६ जनाले फोन गर्न मिल्ने र इन्टरनेट चलाउँदा धेरै महङ्गो हुने गर्दछ ।

महङ्गो तथा कम गति भएका कारण दैनिक फोन गर्न मोबाइलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । डोल्पामा नयाँ दुई टावरको निर्माणकार्यसमेत जारी रहेको बताइएको छ । टेलिफोन सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।

मुडेकेचुला गाउँपालिकामा नयाँ टावर थपेर काम शुरु भएको छ । अहिले भारी हिमपात हुने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ । सबै ठाउँका टावर माइक्रोवेभमा जोड्नका लागि रिपिटर टावर थप्नुपर्ने टेलिकमले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु