Aafno Khabar

६ किलोग्राम लागूऔषध कोकिनसहित चार जना विदेशी पक्राउ

  • December 23, 2019 प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट ६ किलोग्राम लागूऔषध कोकिनसहित चार जना विदेशीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलारुसका पाभेल भेसिलयू र एलिना एल्डोसाइना रहेका छन् । पाभेल र एलिना काठमाडौंबाट हङकङ उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनीहरुको बयानको आधारमा वोलिभियनका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ परेका हुन् ।

विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश जाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा राखिएका ४–४ वटा ज्याकेटको फल्स बटममा ६ किलो कोकिन फेला परेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

ब्युरोका प्रमुख दिनेश अमात्यले कोकिन लगायतका लागू पदार्थ ओसार पसारमा नेपाललाइ ट्रान्जिट्को रुपमा प्रयोग गर्ने गरिएको बताए ।

बरामद गरिएको कोकिनको बजार मूल्य करिब १५ करोड रुपैयाँ बराबरको हुन सक्ने पनि प्रहरीले जनाएको छ ।

बरामद गरिएको कोकिनको प्रयोग युरोपियन मुलुक तथा जापान, चीन लगायतका देशमा हुने गरेको पनि प्रहरीले जनाएको छ ।