काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको कम्प्याक्ट(सम्झौता) संसदको जारी हिउँदे अधिवेशनबाट पारित गर्नको लागि मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) ले अनुरोध गरेको छ ।
एमसिएले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विशुद्ध देशको हितमा रहेको दाबी गर्दै अनुमोदनको लागी आग्रह गरेको हो ।
एमसीसी नेपाल कम्प्याक्टको औपचारीक कार्यान्वयन २०७७ असार १६ गतेदेखी हुदैछ । यसको कार्यान्वयनको थालनी हुनुपुर्व ६ वटा शर्तहरु पुरा गर्नुपर्नेमा चार वटा पुर्वशर्तहरु पुरा भईसकेका छन् ।
नेपालमा लगानी वृद्धि तथा आर्थिक विकासमा तिव्रता ल्याउन, नेपालको विद्युुतको उपलब्धता सहज बनाउन तथा सडक गुणस्तर कायम गर्नको लागी भएको यस सम्झौताले थप सहज गर्ने भएकोले एमसिसि कार्यान्वयन गर्न आवश्यक रहेको एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले बताए ।
एमसीसीमा पारदर्शी ढंगले काम हुने र लेखापरिक्षण महालेखा परिक्षकले पनि गर्न पाउने विष्टको भनाई छ ।
यस परियोजना पुरा भएपछि क्रस बोर्डर लाईनबाट २४ सय मेगावाटसम्म विद्युत लैजान सकिने विष्टको भनाई छ । अमेरिकी सहयोगको एमसिसि ५० करोड अमेरीकी डलर सहितको परियोजना हो ।
एमसिसिले सुरु गर्ने विद्युत प्रसारण लाईनलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिसकिएको छ भने बुटवल गोरखपुर प्रसारण लाईन निर्माणबारे नेपाल भारतबीच सहमती पनि भईसकेको छ । एमसिसि विभिन्न २७ देशमा लागु भएका मध्ये १७ देशमा कार्यान्वन भईसकेको छ भने १० वटा देशमा विकासको क्रममा छन् ।