Aafno Khabar

भुमेको बजेट साढे ३१ करोड

  • नयाँ पत्रिका
  • २०७५ असार १७ गते ०७:५४ प्रकाशित

रुकुम(पूर्व)को भुमे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७५/०७६ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । गाउपालिकाले गाउँसभामा आगामि आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट एकैसाथ पेश गरेको छ । सभामा कुल साढे ३१ करोड बराबरको अनुमानित बजेट पेश गरेको छ । यो चालु आर्थिक वर्षका लागि विनियोजित बजेट भन्दा झण्डै तीन करोड बढी हो ।

आगामि आर्थिक वर्षका लागि अनुमानित ३१ करोड ३० लाख ५९ हजार ८ सय मध्ये चालू खर्चतर्फ १५ करोड ५१ लाख ४४ हजार र पुँजिगत खर्चतर्फ १५ करोड ७९ लाख १५ हजार ८ सय रुपैँया प्रस्ताव गरिएको छ । आन्तरिक राजश्व, संघ र प्रदेशबाट राजश्व बाँडफाँड र अन्तरसरकारी बित्तिय हस्तातरण शिर्षक बापत उक्त रकम प्राप्त हुने गाउपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए ।

गाउँपालिकाले आन्तरिक श्रोतबाट ५७ लाख ८६ हजार ७ सय ४० रुपैँया, संघ र प्रदेशको राजश्व बाँडफाँडबाट ६ करोड ७३ लाख २१ हजार, संघ र प्रदेसको समानिकरण अनुदान मार्फत ११ करोड ५९ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै गाउँपालिका, संघ र प्रदेशको सशर्त अनुदान मार्फत ११ करोड ९० लाख रकम आउँने गाउँसभामा पेश गरिएको अनुमानित बजेट बक्तव्यमा उल्लेख छ ।

नीति तथा कार्यक्रम गाउपालिका अध्यक्ष रामसुर बुढा, बजेट उपप्रमुख मनकुमारी बुढा बिष्ट र आर्थिक विधेयक प्रवक्ता प्रवेश पुनले प्रस्तुत गरेका हुन् । नीति कार्यक्रम तथा बजेटमा दफावार छलफल गरी पास गरिने गाउँ कार्यपालिकाले जनाएको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्रमुख प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु