काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्याएको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित रह्यो । यस दिन ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६१ को घट्यो र ६ को स्थिर रह्यो ।
सेक्टरगत रूपमा बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.७६, लगानी ०.४५, जीवन बीमा ०.६१, उत्पादन २.०७, माइक्रोफाइनान्स ०.२७ प्रतिशतले घटे । निर्जीवन बीमा स्थिर रहँदा अन्य ०.२३ र व्यापार ०.१० प्रतिशतले बढे ।
यस दिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले उकालो लाग्यो भने नेपाल रिपब्लिक मिडिया ८.८४ र सप्तकोशी विकास बैंक ६.४३ प्रतिशतले वृद्धि भयो । यस्तै, बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो । सुपर मादी हाइड्रोपावर ८.२४, सामुदायिक लघुवित्त ८.१०, अपर लोहोरेखोला ६.२५ प्रतिशतले घटेका छन् ।कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे।