Aafno Khabar

पत्रकार आचारसंहिताको उल्लङ्घनमा ३८ युट्युब च्यानललाई कारबाहीकोलागि सिफारिस

  • आफ्नो खबर
  • February 5, 2025 प्रकाशित

झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भनेर अतिरञ्जित ढंगले प्रस्तुत गर्दै सनसनीपूर्ण समाचार सम्प्रेषण गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले पछिल्लो समयमा विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु तथा पीडित परिवारका भिडियो र तस्बिर सार्वजनिक गरी, अमर्यादित प्रश्न सोध्ने र संवेदनहीन बहसमा संलग्न भई भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरेको ठहर गरेको छ।

यसैक्रममा पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयता सम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको छ। साथै, दर्ता नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कानुनी प्रक्रियामा लिइएको जानकारी पनि दिइएको छ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यताको विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ र गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ।