अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार सम्हालेर प्रविधि क्षेत्रमा ठूलो लगानी गर्ने योजनाहरू अघि बढाइरहेका बेला एउटा चिनियाँ एप ‘डिपसिक’ ले त्यहाँको सेयर बजार र अर्थतन्त्रमा ठूलो तरंग ल्याएको छ। ट्रम्पले शपथ लिएको दिन अर्थात् जनवरी २० मा सार्वजनिक भएको यो ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ (जेन–एआई) एप हाल प्रविधि बजारमा चर्चा र विवादको केन्द्र बनेको छ।
गत दुई वर्षदेखि चर्चित ओपनएआईको च्याटजीपीटीलाई पछिल्लो समय डिपसिकको तीव्र उभारले ओझेलमा पारिदिएको छ। सामाजिक सञ्जालहरूमा च्याटजीपीटी र डिपसिकको तुलनात्मक पोस्टहरू व्यापक रूपमा शेयर भइरहेका छन्। प्रविधि कम्पनी एनभिडियाले समेत सोमबार एकै दिनमा आफ्नो बजार मूल्यको १७ प्रतिशत हिस्सा गुमाएको खबर आएको छ।
डिपसिकको विशेषता यसको कम लागतमा निर्माण र सञ्चालनको क्षमतामा रहेको छ। जीपीटी–४ जत्तिकै क्षमता राख्ने दाबी गरिएको डिपसिकले प्रति १० लाख आउटपुट टोकनका लागि २.१९ अमेरिकी डलर खर्च गर्ने बताएको छ, जुन जीपीटी–४ को तुलनामा निकै सस्तो हो।
डिपसिकको सफलता र यसको व्यापक स्वीकृतिले अमेरिकी प्रविधि क्षेत्रमा ठूलो प्रभाव पारेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले समेत चिनियाँ एआई कम्पनीको यो उभार सम्पूर्ण अमेरिकी कम्पनीहरूका लागि चेतावनी भएको बताएका छन्। प्रविधि विश्लेषकहरूले यसलाई ‘एआई क्षेत्रको स्पुतनिक क्षण’ भन्दै व्याख्या गरेका छन्, जसले अमेरिकी प्रविधि क्षेत्रलाई नयाँ रणनीति बनाउन बाध्य तुल्याएको छ।
डिपसिकको तीव्र उभारसँगै अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ। प्रविधि क्षेत्रको नासडक इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ भने एनभिडियाको कुल बजार मूल्यमा मात्र एकै दिनमा ६ खर्ब अमेरिकी डलरको गिरावट आएको छ। माइक्रोसफ्टका प्रमुख सत्य नाडेलाले डिपसिकको उपलब्धिलाई प्रविधि क्षेत्रको महत्वपूर्ण कोसेढुंगा भनेका छन्।
चिनियाँ उद्यमी लियाङ वेनफेङद्वारा स्थापना गरिएको डिपसिक एप हाल एपल एप स्टोरमा सबैभन्दा लोकप्रिय निःशुल्क एप बनेको छ। झन्डै ४० देशमा यो एप शीर्ष स्थानमा रहेको छ। यो एप बाइडु र बाइटडान्सका अन्य एआई मोडलहरूजस्तै राजनीतिक रूपमा संवेदनशील विषयमा प्रतिक्रिया नदिने गरी निर्माण गरिएको बताइएको छ।
डिपसिकको सफलताले प्रविधि क्षेत्रको प्रतिस्पर्धा झन् तीव्र बनाएको छ। ओपनएआईका प्रमुख साम अल्टम्यानले यसलाई गम्भीर रूपमा लिएको बताएका छन् भने एलन मस्कले डिपसिकको आर्थिक तथा प्राविधिक विवरणमाथि शंका व्यक्त गरेका छन्। डिपसिकको प्रभाव के कति दीर्घकालीन रहने भन्नेबारे प्रष्ट नभए पनि यसले एआई बजारमा नयाँ तरंग ल्याएको छ।