काठमाडौँ – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ (UT-1) जलविद्युत् आयोजना क्षेत्रबाट बेपत्ता भएका करिब ५ सय श्रमिक तथा कर्मचारीहरूको खोजी र उद्धारमा चरम ढिलासुस्ती भएको भन्दै पीडित परिवारहरू काठमाडौँको माइतीघर मण्डलमा धर्नामा उत्रिएका छन्।
घटना भएको करिब एक महिना बित्न लाग्दासमेत आयोजनाको मुख्य आवासगृह, कार्यालय, मुख्य सुरुङ (Tunnel) तथा जोखिमयुक्त कार्यस्थलहरूमा प्रभावकारी खोजी नभएपछि आक्रोशित आफन्तहरू सरकार, आयोजना प्रवर्धक र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको ध्यानाकर्षण गराउन राजधानी आइपुगेका हुन्।
प्रवर्धक, ठेकेदार र बहुराष्ट्रिय लगानीकर्तामाथि गम्भीर आरोप
प्रदर्शनकारीहरूले आयोजना प्रवर्धक नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी प्रा. लि. (NWEDC) र EPC मुख्य ठेकेदार डुसान इनर्बिलिटी (Doosan Enerbility) माथि घोर लापरवाही र गैरजिम्मेवारीको आरोप लगाएका छन्।
त्यसैगरी, आयोजनामा मुख्य लगानीकर्ताका रूपमा रहेका अन्तर्राष्ट्रिय वित्त निगम (IFC – विश्व बैंक समूह), एसियाली विकास बैंक (ADB), एसियाली पूर्वाधार लगानी बैंक (AIIB), कोरियाली निर्यात-आयात बैंक (K-EXIM), र कोरिया साउथ-ईस्ट पावर कम्पनी (KOEN) लगायतका बहुराष्ट्रिय वित्तीय संस्थाहरूले समेत निर्माणस्थलमा न्यूनतम वातावरणीय तथा सुरक्षा मापदण्ड पालना गराउन नसकेको पीडितहरूको भनाइ छ।
आफ्ना परिवारका मुख्य अभिभावक तथा कमाउने सदस्यहरू हराइरहेका बेला कम्पनी र लगानीकर्ताहरूले खोजी कार्यमा कुनै चासो नदेखाएको, सोधपुछ गर्न जाँदा विभिन्न बहाना बनाएर आलटाल गरेको र सामान्य क्षतिपूर्तिको प्रलोभन देखाएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप पीडितहरूले लगाएका छन्।
आयोजनाको असक्षमता र लापरवाहीका कारण यति ठूलो मानवीय क्षति हुँदा पनि कम्पनीले निरन्तर झुटो विवरण दिँदै आएको र उल्टै खोजीका लागि दबाब नदिनू भन्दै मानसिक तनाव र धम्कीसमेत दिएको गम्भीर गुनासो उनीहरूले पोखेका छन्।
‘साँस दिन त सकेनौ लास त देऊ’
माइतीघर मण्डलमा भेला भएका आफन्तहरूले ‘हाम्रा मान्छे कहाँ छन् ?,’ ‘कम्पनी र लगानीकर्ताको लापरवाही बन्द गर,’ ‘मान्छेको सास दिन सक्दैनौ भने लास त देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका छन्।
“कति दिन घरमा बसेर कुर्ने ? कति दिन रोएर बस्ने ? हाम्रा मान्छे जीवित छन् कि मरिसके, कम्तीमा सत्यतथ्य त थाहा पाउनुपर्यो,” एक पीडित महिलाले भावुक हुँदै भनिन्, “कम्पनी, लगानीकर्ता र सरकार मिलेर घटना सामसुम पार्न खोज्दैछन्। हामीलाई पैसा होइन, हाम्रा परिवारका मान्छेको अत्तोपत्तो चाहिन्छ।”
मुख्य आवासगृह र सुरुङभित्रै पुरिएका थिए ठूलो सङ्ख्याका श्रमिक तथा प्राविधिकहरू
आफन्तहरूका अनुसार बाढी आउने समयमा आयोजनाको मुख्य कार्यालय, आवासगृह (Camp Complex), मुख्य सुरुङ र पावरहाउस निर्माण क्षेत्रमा ठूलो सङ्ख्यामा श्रमिक तथा प्राविधिकहरू खटिएका थिए।
बाढीले सुरुङका मुखहरू पुरिएकाले भित्र अझै धेरै मानिसहरू थुनिएको वा अड्किएको आशङ्का गरिएको छ। साथै मुख्य आवासगृह क्षेत्रमा धेरै श्रमिकहरू पुरिएको भए पनि आधुनिक उपकरण र सुरक्षा निकायको पर्याप्त टोली परिचालन गरी खोजी अभियान चलाउन कम्पनी र सरकार पूर्णतः असफल भएको पीडितहरूको आरोप छ।
रसुवास्थित आयोजना स्थल, प्रवर्धक कम्पनी NWEDC र मुख्य ठेकेदार डुसान इनर्बिलिटीको कार्यालय धाउँदा पनि कुनै ठोस परिणाम नआएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन्।
पीडित परिवारहरूले तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न, २४ सै घण्टा खोजी कार्य तीव्र बनाउन र लापरवाही गर्ने प्रवर्धक, ठेकेदार तथा गैरजिम्मेवार लगानीकर्तामाथि कडा कारबाही गर्न माग गरेका छन्।