धनगढी – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मुख्यमन्त्री दिने गरी समझदारी बनेको छ । नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गरेर जान नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच समझदारी बनेको हो ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीबीच नाउपाको रेमश पक्षका चौधरीलाई समर्थन गरेर जाने सहमती बनेको हो ।
नेपाली कांग्रेस र एकीकृत समाजवादी समेतको समर्थनमा आफ्नो दलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने रशम पक्षले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको विषयले नाउपालाई दुई धारमा पुर्याएको छ ।
नाउपामा रेशम पक्षले लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
त्यसअघि नै नाउपाको रेशम पक्षले सरकार गठनका लागि दाबी पेस गर्न लागेको हो । यहाँ कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षका ४ जना सांसद छन् ।
यहाँ सत्ता गठबन्धन दलहरुबीच पनि नाउपालाई मुख्यमन्त्री दिने समझदारी थियो । तर, पार्टीभित्रको किचलोका कारण नाउपामा विवाद चल्दै आएको छ ।