Aafno Khabar

बेलायत काम गर्न जान चाहने नर्सका लागि आवेदन खुला

  • आफ्नो खबर
  • July 20, 2023 प्रकाशित

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १ सय जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म  https://ferms.dofe.gov.np  मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)  प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो ।

उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् । उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् ।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

त्यसैगरी, बेलायत जान चाहनेले कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव पनि अनिवार्य गरिएको छ ।

यस्तो योग्यता पूरा गरेकाहरुमध्ये संक्षित सूची तयार गरेर अन्तर्वार्तामार्फत बेलायत जान पाउनेहरु छानिने छन् । त्यस्तै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।

प्रोटोकलले यस्तो आवेदन दिन तोकिएका योग्यताहरु पूरा भएको हुनुपर्ने अनिवार्य गरेको छ । नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍कअनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति लिएका छन् ।