काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) तोलामा १ हजार रुपैयाँ बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।