काठमाडौं । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख दुगडले नेपालमा आर्थिक संकट भएपनि अहिले नै श्रीलंकाको जस्तो अवस्था नआएको बताउनुभयो । उहाँले श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चा भएको बताउनुभयो ।
प्रमुख दुगडले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायसँगको सल्लाह सुझावका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभयो ।
दुगडले पछिल्लो समय मुलुकमा विदेशबाट आउने रेमिट्यान्स समेत अवैधानिक रुपमा आउने गरेकाले अर्थतन्त्रमा विकृति आएको बताउनुभयो ।
उहाँले विदशबाट नेपालमा सामान अवैधानिक रुपमा ल्याउने कम मूल्य देखाउने र विदेशमा नै कारोबार मिलाउने कार्य भईरहेको जिकीर गर्नुभयो ।