काठमाडौं । अमेरिकी सरकारले नेपाली सेना र यूटा राज्यको नेसनल गार्डबीच स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) सम्झौता गर्न प्रस्ताव गरेको विषयमा नेपाली सेनाले ध्यानाकर्षण गराएको छ।
नेपाली सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै एसपिपीबारे ध्यानाकर्षण गराएको हो। विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न सञ्चारमाध्यमहरूमा चर्चामा आएको एसपिपीसम्बन्धी समाचारहरूमा नेपाली सेनाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपिपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको विज्ञप्तिमा भनेको छ।
नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपिपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको विज्ञप्तिमा भनेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘एसपिपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको। साथै नेपालले अबलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी (Military Partnership) भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ।’