चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् ।
उनले भरतपुरका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिएका छन् ।
अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरिन्। गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा एकीकृत समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ ।
हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।
यसअघि गठबन्धनले विराटनगरबाट महानगरपालिकामा विजयी शुरुवात गरेको छ । बिराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित हुनुभएको छ ।
उहाँले एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । कोइरालाले ३० हजार १७० मत ल्याउँदा थापाले २१ हजार ४५५ मत ल्याउनुभयो ।
उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्की विजयी हुनुभयो । उहाँले जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई पराजित गर्नुभयो । कार्कीले २५ हजार ६८० मत ल्याउँदा यादवको २४ हजार २१९ मत आयो ।