झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत ल्याउँदा एमालेकी गिताकुमारी पौडेलले १६ हजार ९६६ मत ल्याइन् ।
उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भइन् । एमालेकी अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत ल्याएर पराजित भइन् ।
झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।
यसैबीच, स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो ।
मतगणना सम्पन्न भएकामध्ये सबैभन्दा बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेलेभन्दा कांग्रेसले १०६ बढी पालिकामा विजय प्राप्त गरेको छ । एमालेले हालसम्म १७७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।
आयोगका अनुसार मतगणना भइरहेको पालिकामध्ये हाल ४३ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।