काठमाडौं । काठमाडौं जिल्लाका १० पालिकामध्ये तीनवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी यसअघि ०७४ सालको चुनावमा पनि दक्षिणकाली नगरपालिका मेयरमा निर्वाचित भएका थिए।
यसैगरी, कीर्तिपुर र तारकेश्वरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यी दुवै नगरपालिकामा भने यसअघि एमालेले जितेको थियो।
कांग्रेसले यसपटक नतिजा उल्ट्याएको हो। कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्णहरि महर्जन निर्वाचित भएका छन्।
काठमाडौंका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको थियो।
गोकर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा अग्रता लिइरहेको कांग्रेसले यसअघि पनि मेयर जितेको थियो। यसअघि पनि जितेको बुढानीलकण्ठमा अहिले पनि एमालेको अग्रता छ।
शंखरापुर नगरपालिकामा भने राप्रपाले अग्रता लिइरहेको छ। कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिएको हो ।
यस्तै, शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले ३ हजार ७ सय ३ मत ल्याउँदा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३ हजार ४ सय ८५ मत ल्याएका छन्।
एमालेका कृष्णलाल बजगाईंले ३ हजार १ सय ३ र माओवादी केन्द्रका मधु केसीले २ हजार ८५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कागेश्वरी मनहरा नगरपालिकामा कांग्रेसमा उपेन्द्र कार्कीले ५ हजार ५ सय ६५ मत ल्याउँदा एमालेका रामशरण ढुंगानाले ४ हजार ६ सय ६९ मत ल्याएर पछ्याइरहेका छन्।
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका दिपककुमार रिसालले ६ हजार ४ सय ८६ मत ल्याएका छन् भने एमालेका उद्धव विष्टले ६ हजार ९१ मत ल्याएका छन्।
बुढानीलकण्ठ नगरपालिकामा एमालेका मीठाराम अधिकारीले ९ हजार ४ सय २६ मत प्राप्त गर्दा कांग्रेसका विनोद चालिसेले ७ हजार ४ सय ३५ भोट प्राप्त गरे।
टोखा नगरपालिकामा कांग्रेसकी उम्मेदवार ३ सय २८ मतले अघि छन्। कांग्रेसकी रजनी थापाको ७ हजार ८ सय ९२ मत आएको छ भने एमालेका प्रकाश अधिकारीले ७ हजार ५ सय ६४ मत ल्याएका छन्। टोखामा यसअघि एमालेका विजय अधिकारी निर्वाचित भएका थिए।
नागार्जुन नगरपालिकामा कांग्रेसमा मोहनबहादुर बस्नेत ४ हजार ९८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका नन्दनहरि गौतमले ३ हजार ४०४ मत ल्याए।
चन्द्रागिरि नगरपालिकामा कांग्रेसका घनश्याम गिरीले ८ हजार ६ सय ७५ मत ल्याउँदा एमालेका उत्तम बहादुर राउतले ७ हजार ६३ मत पाएका छन्।
यस्तै, तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन ११ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका रामेश्वर बोहराले ७ हजार ८ सय ७ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा भने एमालेका बोहरा निर्वाचित भएका थिए।
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेतले ७ हजार २०१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका श्रीराम आचार्यले ५ हजार १ सय १२ मत ल्याएका थिए।
त्यस्तै, कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी झण्डै दोव्वर मत ल्याएर विजयी भएका छन्। नकर्मीले ९ हजार ४३ मत ल्याउँदा एमालेका केशवरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याएका थिए।