Aafno Khabar

एमालेको अवरोध पछि भरतपुरको मतगणना रोकियो

  • आफ्नो खबर
  • May 16, 2022 प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारीले गणक कर्मचारीमाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ ।

उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् ।

त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ । एमालेले मत गणनाको विषयमा विवाद झिकेपछि चितवनमा हिजो पनि केही समय मत गणना रोकिएको थियो ।

यसअघि चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ३ सय ३३ मतसहित अग्रता बनाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीको ५ हजार ३ सय ५० मत रहेको छ । भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको २५५८ मत रहेको छ ।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको ६ हजार ४ सय ५२ र राप्रपाका हिमला गुरुङको ४ हजार ३ सय २१ रहेको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

पछिल्लो परिणाम अनुसार बालेन शाहले ८ हजार ४ सय ४८ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ४३ सय ४२ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३७ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ । उहाँको ५६ सय २६ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले २० सय ७८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ । अहिलेसम्म उहाँले ६३ सय ४३ मत प्राप्त गर्दा एमालेका सागर थापाले ४८ सय ३३ मत पाउनु भएको छ ।

यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको ५७ सय ४८ मत रहँदा एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाउनु भएको छ ।

वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहको ५१ सय ३३ हुँदा एमालेका विजयकुमार सरावगीले २ हजार ३ सय ६ मत ल्याउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु