पर्वत । फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले झण्डै १ हजार मतको अग्रता लिएका छन् ।
तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ८१९ मतले पछि पारेका छन् । जारी मतगणनामा तिवारीको ४५७४ मत हुँदा शर्मा ३७५५ मतसहित पछ्याइरहेका छन् ।
उपपमेयरमा पनि माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्रीले ३८३८ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी मञ्जु अधिकारीले ३६६३ मत ल्याएकी छन् ।
कुश्मा नगरपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता कायम राखेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका कांग्रेसका जोशीले नेकपा एमालेका गणेश पौडेललाई ३४३ मतले पछि पारेका छन् ।
सोमबार बिहानसम्मको गणनामा कांग्रेसका जोशीले ३०१४ मत ल्याउँदा एमालेका पौडेलले २६७१ मत ल्याएका छन् । उपपमेयरमा भने एमाले उम्मेदवार स्वस्थानी रिजालले अग्रता बनाएकी छन् ।
रिजालले २६८७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार शंकर गिरीले २१५१ मत ल्याएका छन् । कुश्मा नगरपालिकामा हालसम्म वडा नम्बर १, १३ र १४ को परिणाम आएको छ ।
१ र १४ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी हुँदा १३ मा एमालेको प्यानल नै विजयी भएको छ ।
पैयूँ गाउँपालिकामा एमालेले मतान्तर बढाउँदै लगेको छ । नेपाली कांग्रेसको पकड क्षेत्रको रुपमा रहेको पैयूँमा ५ हजार मत गणनासम्म कडा टक्कर देखिएको थियो ।
तर, पछिल्लो समय नेकपा एमालेका उम्मेदवार महेन्द्रकुमार श्रेष्ठले अग्रता कायम राख्दै मतान्तर पनि बढाएका छन् । श्रेष्ठको २९७० मत हुँदा नेपाली कांग्रेसका तोरण मल्ल ठकुरीको २८१३ मत रहेको छ ।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी उम्मेदवार यामकुमारी रानाले अग्रता कायम राखेकी छन् ।उनले ३१५२ मत ल्याउँदा कांग्रेसकी जानकी प्रधानको २६७१ मत रहेको छ ।
पैयूँ गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।