चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने दाहालले २ हजार ४६५ मत ल्याएकी छन् । यसअघि दाहाल झिनो अग्रता बनाइरहेकी थिइन् ।
भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । भरतपुर महानगरमा दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बानेश साहले अग्रता कायम गरेका छन् ।
उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।
पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् ।
आचार्यले १ हजार ५ सय ८५ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ५ सय ३२ मत पाइन् ।
उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।