कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताउनुभएको छ ।
आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको चरित्र छुट्याउनै नसक्ने खालको भएको बताउनुभयो । एमसीसीको सवालमा पनि प्रचण्डले दोहोरो चरित्र देखाएको ओलीको आरोप छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गर्नुभएका ओलीले ब्यङ्ग्यात्मक शैलीमा भन्नुभयो ‘नाम हे¥यो नेकपा माके, काम हे¥यो कांग्रेसको पुच्छर । नाम हे¥यो पार्टी फुटाएर एकीकृत, काम हे¥यो कांग्रेसका पछि लागेर समाजवादी ।
एमसीसी पास गर्नका लागि सरकारसँग पर्याप्त मत रहेको भन्दै उहाँले पास गर्ने की नगर्ने भन्ने विषयमा एमालेले चिन्ता लिनु नपर्ने बताउनुभयो । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको ओलीको भनाई छ ।
गठबन्धन टुट्यो भने सबै दल धुलोपिठो हुने उहाँको तर्क छ । गठबन्धन कायम रहे पनि आउँदो स्थानीय चुनावमा गठबन्धनलाई उठ्नै नसक्ने गरी पछार्ने ओलीले चेतावनी दिनुभयो ।
सरकारमा बस्नेहरूले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको ओलीको आरोप छ ।