हिन्दु धर्म र राजतन्त्र स्थापनाको मुख्य एजेण्डा बनाएर २०७६ फागुन २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एकिकरण भएको पूर्व पञ्चहरुको पार्टी राप्रपा फेरी विभाजन भएको छ ।
हिन्दु धर्मको ग्रन्थ गिता छोएर खाएको कसम २ वर्ष पनि बित्न नपाउँदै कमल थापाले राप्रपामा नरहने घोषणा गरे । गृह जिल्ला हेटौंडा पुगेर राप्रपा परित्याग गरेको घोषणा गरेका थापालले त्यसको तीन दिन पछि काठमाडौंमा राप्रपा नेपाललाई ब्यूताए ।
गएको मंशिर २६ गतेबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि विक्षिप्त बनेका थापाले हारको स्विकार गर्नै सकेका थिएनन् ।
आफ्नो हारलाई पूर्वराजाको षयडन्त्रको रुपमा परिभाषित गर्र्दै आएका थापा कुनै पनि हालतमा लिङदे्नलाई अध्यक्ष मानेर राप्रपामा बस्न सक्ने मनस्थितीमा देखिएनन् । निरन्तर जसो राप्रपाको नयाँ नेतृत्व प्रति असन्तुष्टी जनाउँदै आएका थापालाई सामाजिक सञ्जालहरुमा मुसो प्रवृतिको नेताको रुपमा चित्रित गरियो ।
पद बिना एक मिनेट पनि बस्न नसक्ने भनेर आलोचना खेप्दै आएका थापाले अन्ततः आलोचनालाई प्रमाणित गरेर देखाइदिए । त्यो मात्र होइन, नयाँ यात्रामा पनि हिन्दु धर्मलाई मुख्य एजेण्डा बनाएका थापाले हिन्दु धर्मको मर्म माथि निर्मम प्रहार गरे ।
हुनत थापाले औपचारिक पार्टी बिभाजन गरेनन् । आफू मात्र राप्रपा परित्याग गर्दै राप्रपा नेपाल ब्यूताउने अभियानमा लागे ।
यही शैलीलाई उनले गिता छोएर खाएको कसमको बचाउको रुपमा परिभाषित गर्लान । तर,राप्रपा नेपाल ब्यूताएकै दिन आफू घटकका लाई एक ठाउँमा आउँन आह्वान गर्नुलाई के अर्थमा बुझ्ने ?
पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेर आफूहरुले धरातल छोडेको आशयको बक्तव्य सहित थापा आफू पुनः आफ्नै घरमा फर्किएको बताए ।
‘२०७३ सालदेखि हामीले बाटो विरायौं । पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा र्पयौं । गम्भीर राजनीतिक भुलका श्रृखंलाहरु शुरू भए । असहज र गलत प्रवृत्तिहरुसंग सम्झौता गर्न थाल्यौं । फलस्वरुप हामी करिव पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिव करिव निस्क्रिय, प्रभावविहिन हुन पुग्यौं’, थापाले बक्तव्यमा भने ।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाले जिकिर गरेका छन । सँगै थापाले राप्रपा नेपालले अब राजतन्त्रको वकालत नगर्ने पनि बताए ।
‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मुल एजेण्डा हुने बताएका थापाको भनाईलाई कति विश्वास गर्ने ।
थापाले जे भनून । राप्रपा नेपाल ब्यूताएर हिन्दु धर्मको एजेण्डा बोकेका कमल थापाको यात्रा धुमिल छ । अरुको नेतृत्व स्विकार गर्नै नसक्ने अनी आफ्नो यात्राको गन्तब्य पनि टुङ्गो लगाउन हिचकिचाउने थापाको पद लोलुपताले ब्यूतिएको राप्रपा नेपालले कहाँसम्मको यात्रा तय गर्छ हेर्न बाँकी छ ।