Aafno Khabar

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हप्ताको एक पटक मूल्य बढाउँदा पनि निगम किन घाटामा ?

  • आफ्नो खबर
  • February 1, 2022 प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरेको छ । डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२५ रुपैयाँ तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

साथै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ तय गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी १,०९५ कायम गरिएको छ ।

यसअघि निगमले माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । यो मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा २ अर्ब ६० करोडबाट ३७ करोडले घटेको निगमले जनाएको छ ।

तर, अझै १५ दिनमा निगमलाई २ अर्ब २३ करोड घाटा भइरहेको निगमको विज्ञप्तिमा भनिएको छ ।