काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक साथ ५ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समिति बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो ।
बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले आईपिओ निष्काशनको अनुमति दिएको हो ।
बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् ।
बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
यस संगै अब बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।
त्यस्तै जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।
सर्वोत्तम शेयरको प्रकरण बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेदेखि नै आईपिओ अनुमति दिने प्रक्रिया रोकिएको थियो। हाल सरकारले ढुंगानालाई बर्खास्त गरि नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया थालेको छ ।