काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा उनी थिए ।
तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पौडेल सभापतिमा लड्ने सम्भावना झिनो बन्दै गएको हो । किन कि सभापतिका आकांक्षी शशांकले कोइरालाले तीन दिन अघि नै ुरामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्नेु बताएका थिए ।
तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन । पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।
देउवालाई सिटौलापछि श्रेष्ठको साथ
१३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुनस् सभापतिको दाबेदारीमा छन् । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहोल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन् ।
देउवालाई नेता कृष्णप्रसाद सिटौलाले साथ दिइसकेका छन् । यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।
देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।
शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।