काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
च्यासलले पहिलो हाफमा एक गोल गर्दा एनआरटीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । खेलको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । ७९औं मिनेटमा वैकल्पिक दीपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए ।
बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । यता एनआरटीको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो ।
आजै भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र संकटा क्लबले बराबरी खेलेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा गोल गर्दै मनाङ र संकटाले बराबरी २–२ गोल गर्दै बराबरी खेल्दै अंक बाँडेका हुन्। तीन खेलमा २ जित र १ बराबरी खेलेको मनाङले ७ अंक जोड्दै दोस्रो स्थानमा छ।