Aafno Khabar

हराउँदै दशैंको मौलिकता, मेटिदै रातो माटो र कमेरोको रङ

  • आफ्नो खबर
  • October 9, 2021 प्रकाशित

दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परंपरागत शैलीका ढुंगा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्थ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि ती वस्तुको प्रचलन हराउँदै गएको हो ।

केही वर्षअघिसम्म दशैँअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातोमाटो भएका ठाउँमा ठूलै संख्यामा सर्वसाधारण माटो लिन जान्थे । पछिल्लो समय अधिकांश घरमा सिमेन्टको प्रयोग हुन थालेसँगै माटो ल्याउने प्रचलन हराउँदै गएको हो ।

माटोले लिपपोत गरेपछि विगतमा गाउँका घरहरू रातो देखिने र चिटिक्क पर्ने स्थानीय दिलकुमारी थापाले सुनाइन् । माटोसँगै घर सजाउन यहाँका स्थानीयले खोलाको कमेरो र सालको लोप्रा पकाएर बनाइएको खोटो प्रयोग गर्ने गरेको उनले जानकारी दिइन् ।

पछिल्लो समय सिमेन्टको प्रयोग बढ्न थालेसँगै सर्वसाधारणले माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

रातो माटोसँगै घरलाई सजाउन खोटो पकाएर झ्याल–ढोकामा लगाउने तथा कमेरो लगाउने प्रचलन पनि हट्दै गएको उनले जानकारी दिइन् ।

छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ । सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल–ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने अर्का स्थानीय नरबहादुर विश्वकर्माको अनुभव छ ।

‘विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैँ, तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो’, विश्वकर्माले भने, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेका छन् ।’