काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो ।
फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो । खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिन पुगिन् ।
विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन् । दोस्रो हाफमा फिलिपिन्स खेलमा फर्कियो । यससँगै समूह एफ को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । फिलिपिन्सले भने सुखद सुरुवात गरेको छ ।
पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले अब हङकङ्सँग असोज ८ गते खेल्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।