Aafno Khabar

के भयो प्रतिनिधिसभाकाे पहिलो बैठकमा ?

  • आफ्नो खबर
  • September 10, 2021 प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपाा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूची अनुसार बैठक अगाडि बढाएका छन् । यसअघि १५ मिनेट स्थगित भएकाे बैठक सभामुखले अवराेधकाबीच अगाडी बढाएका हुन् ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गरे लगत्तै एमाले सांसदहरु रोष्टम घेर्न आइपुगेका थिए । उनीहरुले संसदीय मर्यादा कायम गर्न र भेदभावपूर्ण व्यवहार बन्द गर्न माग गर्दै नाराबाजी गरे ।

नेकपा एमालेले गत भदौ १ गते सभामुख सापकोटालाई पार्टीबाट १४ सांसदलाई कारवाही गरिएको सूचना दिएको थियो ।

एमालेले सूचना प्रकाशित गर्न सभामुखलाई दबाब समेत दिएको थियो । तर सभामुख सापकोटाले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेश अनुसार नयाँ दल दर्ता भएको उल्लेख गर्दै भदौ १३ गते कारवाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेका थिए ।

विगतमा सभामुख सापकोटाले माओवादीले कारवाही गरेका टोपबहादुर रायमाजी लगायतका सांसदहरुबारेको सूचना २४ घण्टा नबित्दै प्रतिनिधि सभामा सुनाएपनि एमालेको कारवाहीको सूचना समयमा नदिनु पक्षपातपूर्ण भएको एमालेको आरोप छ ।

एमाले सांसदहरुले नाराबाजी गरेपनि सभामुख सापकोटाले उक्त विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले नाराबाजी नगर्न आग्रह गरे । संविधानको धारा १०५ मा अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल र बहस गर्न बन्देज गरिएको छ ।

सापकोटाले एमाले सांसदहरुलाई बाढी पहिरो देखिसीमा समस्यासम्म छलफल गर्न सांसदहरुले माग गरेकाले संसद अवरोध नगर्न आग्रह गरे। तर एमाले सांसदहरुले नाराबाजी गरिरहे । मर्यादापालकहरुले एमाले सांसदहरुलाई रोष्टममा उक्लिने बाटो भन्दा अघि नै रोकीराखेका छन् ।

एमाले सांसदहरुले नाराबाजी गरिरहँदा भीम रावल, घनश्याम भुसाल, इश्वर पोखरेल, सुवास नेम्वाङ लगायत छुट्टै उभिएका थिए । प्रमुख प्रतिपक्षी एमाले नेता केपी ओली कुर्सीमा बसिरहे ।

सत्तापक्षका सांसदहरुले बोल्न समय माग्दै टेबल ठोकेपनि एमाले सांसदहरुले अवरोध कामय राखे । ‘अरु सांसदहरुलाई बोल्ने मौका दिनुहोस्। अरु माननीय सदस्यले पनि देशका जल्दाबल्दा समस्याबारे बोल्न चाहानु भएको छ’, सापकोटाले भने, ‘सीमा समस्या । बाढी पहिरोका समस्या छन्। आफ्ना धारणा राख्न बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस्।’

एमालेले अवरोध जारी राखेपछि सभामुख सापकोटाले पहिलो बैठक स्थगित गरे ।