काठमाडाैं । नेपालमा मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि सक्रिय बनेपछि देशभर यतिबेला मनसुन बदली भइरहेकाे छ ।
बुधबार र बिहीबार मनसुन झन् सक्रिय हुने माैसमविद्ले बताएका छन् । ‘अहिले नै मौसममा सुधार हुने देखिएको छैन । बुधबार र बिहीबार मनसुन थप सक्रिय हुने सम्भावना देखिएकाे छ,’ माैसम पूर्वानुमान महाशाखाकी माैसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली हुनुका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले मंगलबार जारी गरेकाे बुलेटिनमा उल्लेख गरेकाे छ । दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री र अधिकतम् तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । उपत्यकासहित देशका केही भूभागमा केही दिनदेखि वर्षा भइरहेकाे छ ।