Aafno Khabar

मेलम्चीमा पुन: बाढी, बगे तीन घर

  • आफ्नो खबर
  • August 18, 2021 प्रकाशित

काठमाडाैं । अविरल वर्षासँग मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ ।

मेलम्ची–६ नेपाने बगरको घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले दिएकाे जानकारी अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे । मेलम्ची खाेलामा पुन: बाढी आएपछि थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।

यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

यसअघि असार १ गते र साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । निरन्तर बाढीले ५ जनाको ज्यान गएकाे छ भने ६ जना घाइते र २० बेपत्ता भएका छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

मेलम्ची खाेलाकाे मुहानमा नै गएकाे पहिराेका कारण बाढी आएकाे हाे । याे क्रम निरन्तर जारी रहने विज्ञहरुले बताइरहेका छन् ।