Aafno Khabar

कोरोना खोप भनेर नुनपानी !

  • आफ्नो खबर
  • August 13, 2021 प्रकाशित

एजेन्सी । यतिबेला विश्व काेराेना महामारीका कारण आक्रान्त बनेकाे छ । विश्वभर नै काेराेनाबाट बच्नका लागि खाेप अभियान सुरु भइसकेकाे छ । विश्वका सबै देशमा यतिबेला खाेप कार्यक्रम प्रमुख प्राथमिकतामा राखिएकाे छ ।

काेराेनाविरुद्ध खाेपका बारेमा बेलाबेलामा विभिन्न किसिमका टिप्पणी हुने गरेका थिए । तर पछिल्लाे समयमा एक फरक किसिमकाे खुलासा भएकाे छ । जर्मनीमा कोभिड–१९ विरुद्धको खोप भनेर ८ हजार बढी नागरिकलाई नुनपानी लगाइएको खुलेको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोपको साटो कयाैँ मानिसलाई नुनपानी लगाइदिएकी हुन् ।

उक्त घटना मार्च र अप्रिल महिनामा सार्वजनिक भएको थियो । त्यो बेला ६ जनालाई मात्रै नुनपानी दिइएको बताइएको थियो । आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् ।

तर, प्रहरीकाे अनुसन्धानले ८ हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रहरीले जनाएकाे समाचारमा उल्लेख छ ।

कोरोना विरुद्धको साटो नुनपानी लगाएको प्रहरीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन् । उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका छन् । स्वास्थ्यकर्मीका वकिलले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । अहिलेसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता भने गरिएको छैन ।

क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि तयार भएको बताइएको समाचारमा जनाइएकाे छ ।