Aafno Khabar

शुक्रबारदेखि कतारमा लगाइएको प्रतिबन्ध थप खुकुलो

  • आफ्नो खबर
  • August 6, 2021 प्रकाशित

काठमाडाैं । नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा शुक्रबारदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने छ । कोरोनाबिरुद्धको दुबै डोज खोप लगाएकाहरू ३५ जनासम्म भेला हुन पाइनेछ । सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुला गर्न पाइनेछ भने २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहकहरुले रेस्टुरेन्टमा बसेर खान पाउने छन् ।

जोखिम मूल्याङ्कनको आधारमा ३० देखि ५० प्रतिशतसम्म क्षमतामा प्रदर्शनी, सम्मेलन र कार्यक्रम गर्न पाइने मन्त्रालयले जनाएको छ । पूर्ण खोप लगाएका ३५ जनासम्मले खेलकुद प्रशिक्षण गर्न पाउने छन् ।

कतारमा पछिल्लो २४ घण्टामा १८१ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २७ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म काेराेना संक्रमणका कारण यहाँ ६०१ जनाको ज्यान गएकाे छ । हालसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेकाे दोहास्थित नेपाली दूतावासकाे तथ्यांक छ ।

सम्बन्धित शीर्षकहरु