काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।
बाँस्काेटाले ट्वीटमा लेखेका छन्, ‘क्वालीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भइ नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’
नेकपा एमालेका नेता गाेकुल बाँस्काेटा विभिन्न समयमा सामाजिक सञ्जालमार्फत एमालेका माधव नेपाल समूहमाथि कटाक्ष गर्दै आइरहेका छन् । सर्वोच्च अदालतले तत्कालीन माओवादी केन्द्रसँगको एकता बदर गरिदिएपछि विवादको भूमरीमा फसेको एमालेमा पछिल्लाे समयमा टकराव झन् बढ्दै गएको छ ।
दूवै समूह पार्टी विभाजनसम्मका लागि तयार देखिएका छन्, तर एक कदम पछि हट्न उनीहरुका एकअर्काप्रति सर्तै सर्त छन् । विभिन्न समयमा आउने नेपाल र ओलीकाे अभिव्यक्तिका कारण अब एमाले एक नहुने पनि अनुमान गर्न थालिएकाे छ ।