Aafno Khabar

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन प्रधानमन्त्री देउवाको ठाडो निर्देशन

  • आफ्नो खबर
  • August 3, 2021 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन् ।

त्यसअघि ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको जानकारी दिएका थिए । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएकाे मन्त्री भुषालको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको निर्देशन पछि उर्जामन्त्री भुषालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी छन् ।

अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेकी हुन् । शाक्य २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१ बाट कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पनि उनले नै सम्हालेका थिए । मन्त्रालयका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर घिसिङ २०७७ साल भदौमा सेवा निवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य गर्नुका साथै चुहावट नियन्त्रण र लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएका थिए । घिसिङको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन प्रधानमनत्री केपी शर्मा ओलीले उनकाे पुनर्नियुक्ति गर्न मानेका थिएनन् ।

घिसिङको स्थानमा सुरुमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए ।