Aafno Khabar

अब लाइसेन्सको ट्रायल खुल्ने

  • आफ्नो खबर
  • August 2, 2021 प्रकाशित

काठमाडाैं । सरकारले कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताउने गरेका थिए ।

विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौँ सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् । पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो ।

गएकाे वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।

अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।