Aafno Khabar

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री देउवाद्वारा आत्मालाेचना

  • आफ्नो खबर
  • July 28, 2021 प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् । देउवाले अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ? भन्दै प्रधानमन्त्री देउवलाई प्रश्न गरेका थिए ।

राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न गरेपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिलगायतका निर्णय गर्दा गठबन्धनमा सल्लाह गरेर मात्र गर्नुपर्ने धारणा राखेका थिए ।

राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले यसपटक यस्तै भइहाल्यो, अबदेखि यस्तो गल्ती हुँदैन भनी नेतालाई आश्वस्त तुल्याएका थिए । सत्तारुढ दलको कार्यदलमा समेत सल्लाह नगरी श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै कांंग्रेस भित्रै प्रधानमन्त्री देउवाको विरोध पनि भइरहेकाे छ ।