Aafno Khabar

मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस, काे काे बन्दैछन् मन्त्री ?

  • आफ्नो खबर
  • July 28, 2021 प्रकाशित

काठमाडौं । सर्वाेच्चकाे आदेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको हाे ।

मन्त्रीका लागि कांग्रेसमा मात्र होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल भइरहेकाे छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रीमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य भइरहेकाे जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले माओवादीका सबै सांसद मन्त्रीकाे आकांक्षी भएकाे एक कार्यक्रममा नै बताए । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा पनि यही समस्यमा रहेका छन् ।

कांग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले यसपटक मन्त्रीका लागि दाबी गरेका छन् । यी चारमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ ।

यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउनै पर्ने दबाब देउवालाई छ ।

गठबन्धन सरकार भएकाले देउवालाई सन्तुलन मिलाएर मन्त्री चयन गर्न यसपटक सकस पर्ने देखिएको छ । प्रधानमन्त्री देउवाले नजिक आइरहेकाे महाधिवेशनलाई लक्षित गरी यसपटक मन्त्री चयनलाई प्राथमिकतामा दिने अनुमान लगाउन सकिन्छ । देउवाले गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याइसकेका छन् ।

त्यसैगरी, माओवादी केन्द्रले पनि मन्त्री छनोटको कामलाई तीव्रता दिएको छ । मन्त्री छनोट गर्न निकै दबाब परेको बताउँदै आएका पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशबाट एक/एक जना मन्त्री बनाउने नीति लिएका छन् । कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन् ।

गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ । माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ ।

जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।

यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ ।

महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ । देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।