Aafno Khabar

श्रीलंकामा भेटियो १० करोड डलरकाे नीलमणि

  • आफ्नो खबर
  • July 28, 2021 प्रकाशित

काठमाडाैं । श्रीलंकाका अधिकारीहरूले संसारकाे सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन् । श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन् ।

एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए । विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर रहेको बताएको बीबीसीले उल्लेख गरेकाे छ ।

गामागे नाम गरेका ती रत्न व्यापारीले भने, ‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो ।’ सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन नचाहेकाे पनि बीबीसीले उल्लेख गरेकाे छ ।

गामागेको परिवार तीन पुस्तादेखि रत्नकाे व्यापार गरिरहेको छ । ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए । त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियाे ।

श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक हो । गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो । अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ ।

–बीबीसी हिन्दीबाट ।