काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । कोरोना संक्रमण दर पछिल्लो केही दिनयता बढ्दै गएका कारण निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो ।
यसका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल समेत भइरहेको छ । अन्तिम निर्णय भने आइतबार हुने एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थपिने सम्भावना रहेको उनकाे दाबी छ ।
अहिले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न दिइएको छ । उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएको छ ।
उपत्यकामा सभा, समारोह पार्टी प्यालेस, डान्सबार, नाचघर, स्विमिङ पुल, शैलुन, ब्युटीपार्लर, जिमखाना शैक्षिक संस्था बन्द छन् । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
कस्तो छ काेराेना संक्रमणको अवस्था ?
निषेधाज्ञा खुलेपछि कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला गरेर जोरबिजोर हटाएर सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।
मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा २ हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा २ हजार ७१४ पुगेका छन् ।
यस्तै, साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते ९ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा २ हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा ३ हजार १०८ र साउन ६ गते २ हजार ८३८ जना सङ्क्रमित भएका छन् ।