Aafno Khabar

चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख खोप ल्याइने

  • आफ्नो खबर
  • July 17, 2021 प्रकाशित

काठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ ।

चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकाे थियाे । पुनः आगामी बुधबार खाेप लिनका लागि जहाज चीनतर्फ जाने भएको हाे । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने तयारी गरिरहेकाे छ ।

यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यसबारे जानकारी गराइसकेकी छन् ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि चीनले १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा दिन लागेकाे हाे ।