काठमाडाैं । के तपाईँ, ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? कागजपत्रको बारेमा जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने बिहीबारदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाट जानकारी दिने सेवाको प्रयोग गर्न सक्नुहुन्छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरूको बारेमा जानकारी लिनको लागि जानकी टेक्नोलोजीले तयार पारेको Document Tracking System (DTS) मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा बिहीबारदेखि सञ्चालनमा आएकाे हाे ।
ट्राफिक महाशाखाले दिने गरेकाे सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाएर आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोगमार्फत अबदेखि ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ? भन्ने दुविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
उनले यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाइप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाएको समेत जानकारी दिए ।
डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोबाइल एसएमएस मार्फत तुरुन्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाइन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो । तर आजदेखि भने एसएमएस सिस्टमले सहज हुने हाम्रो विश्वास रहेको जानकारी दिए ।
उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यवस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाई पर्ने गरेको असुविधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने विश्वास महाशाखाले लिएको छ ।