एजेन्सी । भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरसको अर्को लहर आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने धारणा राखेका हुन् ।
अक्टोबरमा सुरु हुने तेस्रो लहर वर्षको अन्तिमसम्म रहने उनीहरुको भनाइ छ । रोयटर्सले जुन ३–१७ सम्ममा ४० स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापकसँग यस विषयमा राय लिएको थियो । यो क्रममा उनीहरुले कोरोना खोपको कारण अब आउन सक्ने लहरमा भने ठूलो क्षति नहुने बताएका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशतले भारतमा कोरोनाको तेस्रो लहर अक्टोबर महिनामा आउन सक्ने बताएका थिए । त्यस्तै ७० प्रतिशतभन्दा धेरैले यो लहर दोस्रो लहरको तुलनामा नियन्त्रित हुने अनुमान गरेका थिए ।
अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका निर्देशक डा। रणदीप गुलेरिया भन्छन्, ‘यो निकै नियन्त्रित हुन सक्छ किनकी आगामी दिनमा थप मानिसहरुले कोरोना खोप लगाउनेछन् र दोस्रो लहरपछि मानिसहरुमा विकास भएको प्राकृतिक प्रतिरोधी क्षमताले पनि काम गर्न सक्छ ।’
अहिलेसम्म भारतमा खोपका लागि योग्य करिब ९५ करोडमध्ये पाँच प्रतिशतले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् । अझै पनि धेरै मानिसहरु कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन् । कोरोनाको तेस्रो लहरमा बालबालिका जोखिममा पर्छन् ? भन्ने प्रश्नमा ४० मध्ये २६ जनाले यो आशंका सही साबित हुन सक्ने बताएका थिए ।
‘खोपको आधारमा भन्ने हो भने उनीहरु पूर्ण रुपबाट बञ्चित छन् यो पनि एक कारण हुन सक्छ । किनकी अहिलेसम्म बालबालिकालाई खोपको अनुमति दिइएको छैन’, नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरोसाइन्सको महामारीशास्त्र विभागका प्रमुख डा। प्रदीप बनान्दुरले भने ।
‘धेरै बालबालिका कोरोना संक्रमित बने र पर्याप्त तयारी हुन सकेन भने अन्तिम समयमा केही पनि गर्न सकिँदैन’, कर्नाटक सरकारका हृदय रोग विशेषज्ञ डा। देवीप्रसाद शेट्टी बनाउँछन् ।
४० मध्ये ३० जनाले भारतको लागि कम्तीमा एक वर्ष कोरोना महामारी सार्वजनिक स्वास्थ्यको चुनौती बन्न सक्ने बताएका छन् । ‘कोभिड–१९ समाधान गर्न सकिने समस्या हो । यसलाई खोपको माध्यमबाट सहजै समाधान गर्न सकिन्छ ।
दुई वर्षमा भारतमा खोप र कोरोनासँगको सम्पर्कको कारण हर्ड इम्युनिटीको विकास हुन सक्छ’, युनिभर्सिटी अफ मेरिल्याण्डको इन्ष्टिच्युट अफ ह्युमन भाइरोलोजीका निर्देशक रोबर्ट ग्यालोले भने ।