Aafno Khabar

कोरोना संक्रमण घटेपनि जोखिम कायम !

  • आफ्नो खबर
  • June 18, 2021 प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा संक्रमण देखिँदा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ भने संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

२४ घण्टा भित्र १३ हजार ३७ जनामा गरिएको परीक्षणमा २१ दशमलव २३ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । यस्तै काठमाडौ उपत्यकामा ५ सय ८ जना संक्रमित भेटिएका छन् ।

जसमा काठमाडौमा ३ सय ९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना रहेका छन् । उपत्यकामा समेत संक्रमितको संख्यामा कमी आएको छ । यस्तै सो अवधिमा थप ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ रहेको छ ।

जसमध्ये ५५ हजार ३ सय ७५ जना होम आइसोलेसनमा र ४ हजार २ सय ४९ जना संस्थागत आइसोलेसनमा छन् । ती मध्ये ८ सय ७२ जना आइसीयू र २ सय ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।